Educational News

कक्षा ११ को परीक्षा समेत खारेज, राष्ट्रियस्तरको परीक्षा कक्षा १२ लाई मात्र मान्ने कानुन बन्दै

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) को कानूनी व्यवस्थामा परिवर्तन गरिँदैछ । कोरोना महामारीका कारण हाल स्थगित परीक्षाबारे आगामी वर्षमा पनि माध्यमिक तहको राष्ट्रियस्तरको परीक्षालाई कक्षा १२ मा मात्रै कायम राख्ने गरी विद्यमान कानूनमा संशोधन हुन लागेको हो । एसईई खारेज भइसकेको छ । अब कक्षा ११ को परीक्षापनि खारेज गरेर कक्षा १२ लाई मात्र राष्ट्रिय स्तरको परीक्षा कायम गर्ने तयारी सरकारको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा नेपालले सरकार (मन्त्रिपरिषद्) बाट गत जेठ २८ गते संवत् २०७६ को माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) को परीक्षा नलिई आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेडिङ गर्ने निर्णय भएकामा यसलाई संरचनाका रूपमा विकास गर्न कानूनमा परिवर्तन आवश्यक हुन्छ । उक्त निर्णयलाई शिक्षा क्षेत्रमा सकारात्मक मानिएको छ । मुलुकमा संघीयता लागू भइसकेको र माध्यमिक शिक्षा भन्नाले कक्षा ९ देखि १२ सम्मलाई जनाइने नीति जारी भइसकेको अवस्थामा यसअघि नै कक्षा १० को एसइई परीक्षा राष्ट्रियस्तरमा गरिरहन आवश्यक नपर्ने शिक्षाविज्ञले आवाज उठाउँदै आएका थिए ।

सरकारले संघीय शिक्षा ऐन जारी नभएको र बोर्डको प्रदेशस्तरमा संरचना तयार नभएकाले कक्षा १० को एसइईलाई निरन्तरता दिइ राष्ट्रियस्तरमा सञ्चालन गर्दै आएको थियो । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले पनि कक्षा १० को एसइई परीक्षालाई राष्ट्रियस्तरमा गरिरहन नपर्ने गरी प्रबन्ध गर्न सरकारलाई निर्देशन दिइसकेको छ । शिक्षा ऐन, २०२८ (आठौँ संशोधन), २०७३ कार्यान्वयनमा आएपछि तत्कालीन उच्चमाध्यमिक शिक्षा परिषद् खारेज भई राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको थियो ।

बोर्डले कक्षा १० देखि १२ सम्मको परीक्षासम्बन्धी कार्यलाई क्षेत्राधिकार भित्र आबद्ध गर्दै आएको छ । विगतमा प्रवेशिका परीक्षा ९एसएलसी० भनिने सो परीक्षाको थालनी नेपालमा विसं १९९० बाट शुरु भएको हो । बोर्ड मातहत हालसम्म कक्षा १० तथा कक्षा ११ र १२ का लागि अलगअलग परीक्षा नियन्त्रण कार्यालय सञ्चालित छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सङ्घीय संसदमा पेश हुने संघीयताअनुरुपको शिक्षा ऐन तर्जुमाका लागि हाल कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा छलफल भइरहेकाले सो नयाँ ऐन पारित भएपछि माध्यमिक शिक्षाको कक्षा १० अन्तिम परीक्षाका सम्बन्धमा दीर्घकालीन रुपमा नयाँ व्यवस्थापन हुने बताए ।

गत चैत ११ गतेदेखि जारी भएको बन्दाबन्दीका कारण सबै तहका शिक्षालयको पठनपाठन र परीक्षा स्थगित भएका हुन् । गत वर्षको कक्षा १० को एसइई परीक्षाका लागि चार लाख ८२ हजार २ सय १९ विद्यार्थीले आवेदन दिएका थिए भने एक हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएका थिए । गत चैत ८ गतेदेखि हुने भनिएको कक्षा १२ र चैत २५ गतेदेखि हुने भनिएको कक्षा ११ को परीक्षा पनि बन्दाबन्दीका कारण स्थगन गरेको थियो । कक्षा ११ र १२ को परीक्षाका बारेमा सरकारले चाँडै निर्णय गर्ने जनाइएको छ ।जनबोलीबाट

Related Articles

Back to top button
Close