Lockdown News

सार्वजनिक यातायात खोल्ने तयारी गर्दै सरकार, कोरोनाबाट कसरी सुरक्षित रहने ?

काठमाडौं – कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढिरहेका बेला सरकारले सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ । सार्वजनिक यातायात सञ्चालनको लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र मजदुरबीच छलफल चलिरहेको विभागका महानिर्देशक गोगन हमालले बताएका छन् ।

महानिर्देशक हमालले सिट क्षमताको आधा संख्यामा मात्रै यात्रु राख्ने, सार्वजनिक यातायातको प्रत्येक एउटा सिट खाली राखेर मात्रै अर्को सिटमा यात्रु बस्न पाउने, गाडीमा बस्ने सबैले स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने लगायतका प्रस्तावसहित निर्देशिका तयार गरेको बताएका छन् । तर विभागले बनाएको निर्देशिकामा व्यवसायीले भने सहमति जनाएका छैनन् ।

विभागका महानिर्देशक हमालले भने, ‘सार्वजनिक यातायातमा कोरोनाबाट सुरक्षित रहन मापदण्ड बनाएको हो, यसलाई अन्तिम रुप दिन सरोकारवालासँग छलफल भइरहेको छ ।’ सरकारले व्यवसायी र मजदुरलाई मर्कामा पर्न नदिन भाडा बढाएर भए पनि सार्वजनिक यातायात सञ्चालनको तयारी गरिरहेको छ ।

तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सामाजिक दूरी कायम गर्न बसमा आधा मान्छे लिएर गुडेपछि आफूहरुको खर्च समेत नउठ्ने जनाएको छ । सरकारले भाडा वृद्धि गर्ने मात्र नभइ अनुदानको व्यवस्था पनि गर्नुपर्ने महासंघको माग रहेको छ ।

महासंघका महासचिव सरोज सिटौलाले भने, ‘विभागले बनाएको निर्देशिकाको आधारले गाडी चल्न सक्दैन, मजदुर र यात्रुको स्वास्थ्य सुरक्षाको ग्यारेन्टी हुँदैन ।’ ठूला बसबाहेक ट्याक्सी, ट्याम्पोको पनि न्याय गर्ने व्यवस्था ल्याउनुपर्ने भन्दै महासचिव सिटौलाले अनुदान दिएर लगानीको सुरक्षा दिनुपर्ने बताए । माग सम्बोधन भए सरकारले भनेकै मितिबाट गाडी चलाउन थाल्ने व्यवसायीको तयारी रहेको छ ।

Related Articles

Back to top button
Close