Political ViewsThoughts

राजनीतिमा अपराधीकरणको गन्ध !!!

काठमाडौं । बहुदलपछि नेपालको संस`दीय राजनीतिमा सांसद पदको किनबेच, होटलमा सांसदलाई हप्तौ राखेर मोजमस्ती गराउने र विदेश सयर गराउनेसम्मको विकृतरुप नौलो होइन । सरकार ढाल्न तथा पार्टी फुटाउने ‘मिसन’ मा यस्ता खेल हुने गरेका थिए ।

पछिल्लो समय यस्तै विकृत खेलले निरन्तरता पायो तर अली परिस्कृत शैलीमा । समाजवादी पार्टी नेपालका सांसद तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवलाई महोत्तरीबाट ‘अपहरण’ गरेर काठमाडौं ल्याइएको भन्ने विषयको पक्ष र विपक्षमा बहस भइरहेको छ । जुन प्रकरणमा नेपाल प्रहरीको सर्वोच्च पद आईजीपी बनिसकेका व्यक्ति नै मुछिएपछि अनेक टिकाटिप्प्णी भइरहेका छन् ।

यसबारेका बहसहरु सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सीमित छ । राज्यका जिम्मेवार निकायले भने यस सम्बन्धमा अनुसन्धानमा चासो देखाएका छैनन् ।घटनाक्रममा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित दुई सांसदको नाम पनि मुख्य पात्रको रुपमा सार्वजनिक भएको छ । पूर्वप्रहरी महानिरीक्षक खनालले फेसबुकमार्फत आफूमाथिका आरोपको खण्डन गर्ने पहल स्वाभाविक रुपमा गरेका छन् तर उनको त्यो खण्डनका बाबजुद रहस्यका कयौँ पर्दाहरु उठ्न सकेका छैनन् ।

घटनाको न्यायिक छानविन भएर सत्यतथ्य नआउँदासम्म यो घटना राजनीतिक आडमा हुने आपराधिक गतिविधिको पछिल्लो कडीका रुपमा दर्ज भइरहने छ । यसले हाम्रो राजनीतिक अभ्यास र प्रहरी संगठनको विश्वसनीयता तथा गरिमामाथि पनि प्रश्न उठाइरहने देखिन्छ ।

पूर्वस्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादव अपहरणमा परेका थिए वा मित्रतामा बहकिँदै महोत्तरीदेखि काठमाडौंसम्म आइपुगे भन्ने प्रश्नको वास्तविकता राज्यको जिम्मेवार निकायले खोज्ने चासो नदेखाए पनि घटनाक्रम र विवरणहरुले जनतामा एकखालको सन्देश र जवाफ दिइसकेको थियो । धेरैलाई यस्तो विषय अनौठो लाग्न छाडिसकेको छ किनकि नेपालको राजनीतिमा यस्ता घटनाहरु कयौँ पटक पटाक्षेप भइसकेका छन् ।राजनीति गर्नेहरुले आफ्नो स्वार्थमा प्रहरी प्रयोग गर्नु र प्रहरीले पनि आफ्नो स्वार्थका लागि राजनीतिकर्मीको आदेश पालना गर्नु नेपालको राजनीतिक–सामाजिक परिदृष्यमा नौलो विषय होइन ।

सर्वेन्द्र खनाल
पूर्वप्रहरी महानिरीक्षक खनाल धेरै प्रहरी अधिकारीका प्रेरणा भएको र हालै सेवानिबृत्त भएका कारण पनि अवकाशप्राप्तपछिको उनको नीजि जीवनले समेत कयौँलाई प्रभाव पार्न सक्छ । खनालले आफू कसैको अपहरणमा संलग्न नरहेको सफाइ दिए पनि घटनाक्रमहरुले उब्जाएका कयौँ प्रश्न उनको सफाइका शब्दभन्दा ओजस्वी देखिन्छन् । त्यसैले उनलाई नै प्रेरणा मान्ने प्रहरी अधिकारीहरुले उनका गतिविधि, व्यवहार र भनाइकै अनुशरण गर्दै भोलिका दिन आफ्नो भूमिका केन्द्रित गर्न थाले भने कयौँ सुरेन्द्र यादवहरु अनायाशै एक ठाउँबाट अर्को ठाउँ पुग्न सक्छन् र उनीहरुको अपहरण प्रयास भएको हो या होइन भन्ने बुझ्नकै लागि महिनौँ लाग्न सक्छ ।

Related Articles

Back to top button
Close