Hot News

जनकपुरमा पैसा फालेर भाग्ने महिलामा कोरोना परीक्षण गर्दा ‘पोजेटिभ’ देखियो

जनकपुरधामको महावीरचोकको बाटोमा पैसा छरेर फरार भएका दुई महिलालाई आज प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पक्राउ परेका दुवै जना जनकपुरधाम उपमहानगरपालिका वडा नं ७ निवासी आमुना खातुन र अलिना खातुन रहेका छन् । उनी दुवै जना नातामा भाउजु र नन्द हुन् ।

पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखेर सोधपुछ तथा अनुसन्धान भइरहेको छ । ती महिलाले शुक्रबार दिउँसो वडा नं ५ महावीर चोकको सडकका विभिन्न ठाँउमा रु पाँच, रु १० र रु १०० दरका नोट छरेर फरार भएका थिए । स्थानीयले पैसा देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले सिसिटिभी फुटेजका आधारमा अनुसन्धान शुरु गरेको थियो । सिसिटिभी फुटेजमा मुख छोपेका दुई जना महिला देखिएपछि प्रहरीले तिनको खोजी तीव्र पारेको थियो । प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीका अनुसार सिसीटिभी फुटेज झिकाएर शङ्कास्पद देखिएका र स्थानीयले भनेको हुलियाका आधारमा महिलाको खोजी गरिएको थियो ।

सोहीअनुसार आज करिब २ः३० बजे जानकी नगरबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।यसै क्रममा रकम छरेकी दुई महिलामध्ये एक जनाको र्‍यापिड (आरडीटी) विधिबाट गरिएको परीक्षणमा कोरोना एन्टीबडी पोजेटिभ देखिएको छ ।

कोरोनाभाइरसको त्रासको बेलामा लुकीछिपी जथाभावी पैसा फालेर भागेको आरोपमा प्रहरीले जनकपुरबाट दुई जना महिलालाई पक्राउ गरेसँगै उनीहरुमा गरिएको आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएको हो ।
प्रादेशिक अस्पताल जनकपुर स्रोतका अनुसार सो अस्पतालमा गरिएको परीक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको हो । उनीहरु दुबैजनाको अहिले पिसिआर विधिबाट टेस्ट भइरहको बताइएको छ।

Related Articles

Back to top button
Close