News

स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिए

यहाँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ । बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् ।

चामल तीनचार पटक पखाल्दा पनि कालो नगएको तथा एकदुई छाक पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीयवासी रेशम विकले बताउनुभयो । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले राहत वितरणका लागि वडालाई नै जिम्मा लगाइएको जानकारी दिँदै लापरवाही गर्नेलाई कारवाही गरिने चेतावनी दिनुभयो ।वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले वडा सदस्यलाई सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी दिइएकाले चामल कस्तो प¥यो भन्ने आफूले थाहा नभएको बताउँदै सडेगलेको चामल बिक्री गर्ने थोक बिक्रेतालाई कारवाही गरिने दृढता व्यक्त गर्नुभयो । उहाँका अनुसार उक्त चामल फिर्ता गरी आजै अर्को वितरण गर्न लागिएको छ ।

उलङ्घन गरी खुलेआम आवतजावत
कोरोना भाइरस सङ्क्रमणबाट बच्न र रोकथाम तथा न्यूनीकरणका लागि सरकारले लागू गरेको लकडाउनका बेला लमजुङ– तनहुँका छिमेकी गाउँमा निर्वाधरूपमा आवतजावत गरेको पाइन्छ । शहरबजारमा लकडाउनको पूर्णरूपमा पालना भए पनि ग्रामीण भेगमा भने एक जिल्लाबाट अर्को जिल्लामा दैनिक कामकाज, किनमेल, दैनिक उपभोग्य वस्तु तथा खानेपानीका लागि भन्दै स्थानीयवासी आवतजावत गरिरहेका छन् ।मानिसहरु तनहुँको रुपाकोट, मानेचौका, पुतीबजार, टुहुरे पसल, ढादफेदी, बासखर्कलगायतका ग्रामीण भेगबाट लमजुङतर्फ आउने गरेका छन् ।

लमजुङको पाउँदी बजार, रम्घाटार, न्यौपाने गाउँलगायतका गाउँबस्तीबाट तनहुँतर्फ जाने गरेका छन् । त्यस्तै, रिस्तीखोला करिडोरका लमजुङतर्फ जिता, देउराली, बगुवा, जिताबेँसी, खहरे, सोतीपसल, चर्दीबजार, दुइपिप्ले बजारलगायतका बस्तीका बासिन्दा तनुहँ जाने गर्दछन् । सोही करिडोरका तनहुँतर्फ तार्केखोला, सोतीबेँसी, साखुली, सत्रसयलगायतका गाउँबस्तीबाट लमजुङमा आवतजावत गरिरहेका छन् । विषेशगरी दुई जिल्ला जोडिएको सिमनाका बासिन्दा एक–अर्को जिल्लामा आवतजावत गरिरहेको स्थानीयवासीको भनाइ छ ।
सुन्दरबजार नगरपालिका–६ का वडाध्यक्ष रघु मिश्रले सामानहरु पनि ल्याउनुपर्ने भएकाले सिमानामा रोकतोक नगरिएको बताउनुभयो ।

Related Articles

Back to top button
Close