News

ढा’ड सेकिनेगरी बढ्यो तरकारीको मूल्य

काठमाडौँ,  असोज । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् ।

कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य भएको बताउनुभयो । आलु मात्र होइन अरू तरकारी पनि छोइसक्नु छैन ।

यस्तै भइरहने हो भने दशैँमा समेत सर्वसाधारणको भान्सामा तरकारी पाक्न गाह्रो हुने रिजालले गुनासो गर्नुभयो । व्यापारी भने अहिले कोरोनाका कारण आलु उत्पादन नै कम भएको र भएका ठाउँमा पनि किसानले महँगो भन्ने गरेकाले महँगिएको दाबी गर्छन् ।

कालीमाटी फलफूल तथा तरकारी व्यापारिक संस्थाका अध्यक्ष एवं थोक व्यापारी गीताप्रसाद आचार्यले आलुको पकेट क्षेत्र पाँचखालमा यो वर्ष वर्षाले गर्दा उत्पादन ढिला हुने हुँदा यसको मार उपभोक्तामा परेको बताउनुभयो । पाँचखालको आलु उत्पादन भएर बजारमा आउन अझै एक महिना लाग्ने भएकाले आलुको भाउ अझै महँगो हुनसक्ने उहाँको भनाइ छ ।

आचार्यका अनुसार हरियो तरकारी पनि गत वर्षभन्दा महँगिएको छ । कालीमाटीमा आउने तरकारी गोलभेँडा, स्थानीय काउली, मूला तराई हुँदै भारतसमेत निर्यात भएको र त्यसले गर्दा तरकारीको मूल्य बढेको उहाँको भनाइ छ । कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार बजारमा तरकारीको आगमन विगतभन्दा झन्डै आधा कम भएकाले भाउ महँगो भएको हो ।

Related Articles

Back to top button
Close