News

विद्युत प्राधिकरणमा कुलमानलाई पुन:नियुक्ति गर्न माग गर्दै जुलुस

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि पनि कुलमान घिसिङ नै हुनुपर्ने माग राख्दै डडेल्धुरामा राँके जुलुस प्रर्दशन गरिएको छ।नेपाल विद्यार्थी संघ, डडेल्धुराले ‘उज्यालो नेपाल’ बनाउन घिसिङ सफल भएकाले पुनः नियुक्त गर्न सरकारलाई दबाब दिने उद्देश्यले डडेल्धुरा सदरमुकाममा आइतबार साँझ राँके जुलुस निकालेको हो।

‘नेपाली जनता के भन्छ, कुलमान घिसिङ ल्याऔं भन्छ’, ‘अरु आए अन्धकार, कुलमान आए चमत्कार’लगायतका नारा लगाउदै नेविसंघ डडेल्धुराले प्रर्दशन गरेको हो। राँके जुलुस निकालेको केही समयमा नै प्रहरीले रोकेको थियो।

२०७३ भदौ २९ मा कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङको ४ वर्षे कार्यकाल सकिएपछि उनी प्राधिकरणबाट बिदा भइसकेका छन् । अब प्राधिकरणमा प्रमुखका रुपमा को आउँछन् भन्ने टुंगिएको छैन ।

उर्जा मन्त्रालयले प्राधिकरणका वरिष्ठ कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिने तयारी गरेको छ ।

निमित्त कार्यकारी निर्देशक हुँदै कार्यकारी निर्देशक हुन हितेन्द्र देव शाक्यले प्रधानमन्त्री पत्नी राधिका शाक्यमार्फत लबिङ सुरु गरेको बताइएको छ । उर्जामन्त्री पनि घिसिङलाई राख्ने वा हटाउने विवादमा पर्नुभन्दा केही समय निमित्तलाई नै चलाउन दिने र स्थिति साम्य भएपछि आफूअनुकुलको मान्छे ल्याउने सोचमा रहेको स्रोतको भनाई छ ।

२०५१ सालमा सातौं तहको इन्जिनियरबाट नेपाल विद्युत प्राधिकरणमा प्रवेश गरेका घिसिङ २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त भएका थिए ।पहिलो कार्यकालमा १८ घण्टासम्मको लोडसेडिङ हटाएर प्राधिकरणलाई ३४ अर्ब सञ्चित नोक्सानीबाट ५ अर्बको सञ्चित नाफामा लगेको भन्दै घिसिङलाई दोहोर्‍याउन विभिन्न क्षेत्रबाट माग भएको छ ।

Related Articles

Back to top button
Close