Local News( SHANKHARAPUR)

यो वर्ष बज्रयोगिनी माईका रथ जात्रा नहुने !!

साँखु । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमादेखि सुरु हुने जात्रा यो वर्ष नहुने भएको छ ।यही चैत्र १९ गते शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठको अध्यक्षतामा भएको सर्वपक्षीय वैठकले जात्रा सञ्चालन गर्न नसकिने निर्णय गरेको हो ।

कोभिड १९ (कोरोना भाइरस)को प्रकोप विश्वव्यापीरुपमा बढिरहेको कारण र नेपालमै पनि सरकारले लकडाउन जारी राखेको हुँदा जात्राको लागि गर्नुपर्ने आन्तरिक तयारी समेत गर्न नसकिएको जानकारी जात्रा व्यवस्थापन समिति अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठले दिनुभयो ।

यही चैत्र २५ गते सम्म लकडाउनको स्थिति रहेको र चैत्र २६ गते जात्रा सुरु गर्नुपर्ने भएको हुँदा जात्रा सञ्चालन गर्न नसकिने कुरा बैठकमा उठेको थियो ।लकडाउनकै स्थितिमा समेत अत्यवाश्यक नित्य पूजा लगायत गुरुजुहरुले पूजा गर्नुपर्ने विभिन्न खालका पूजाहरु भने नियमितरुपमा हुने भएको छ ।

शंखरापुर नगर साँखु बजार, घुमारचोक, लप्से, डाँडाकटेरी, गागल, सानागाउँ, पालुवारी, विशम्भरा लगायतको स्थानका जनताले र यस वरिपरिका गाउँहरुले समेत भव्यताका साथ मनाउने यो जात्रा यो वर्ष सञ्चालन नहुने भए पनि घर घरमा सामान्य रुपमै जात्रा मनाइने भएको छ ।नगरपालिकाले यस सम्बन्धी सूचना जारी गरी जात्रा नमनाईने र घर घरबाट लगिने पूजा समेत बन्द गरिएको जनाएको छ ।

Source: Lawanya Sandesh

Related Articles

Back to top button
Close