Auto News

पल्सर १५० टिडीलाई टक्कर दिन आरटीआर १६० फोर भी सिंगल डिस्क, मूल्य दुई हजार फरक

काठमाडौं । नेपाली बजारमा प्रबेश गरेदेखि नै पल्सर सफल मोडलको रुपमा स्थापित हुँदै आएको मोडल हो । अहिले बजारमा यामाहा, टीभीएस, होन्डा, सुजुकी, हिरो लगायतका ब्राण्डले पल्सर १५० को बिक्रीलाई भेट्ने प्रयास गरेको भएपनि अन्य कम्पनीको तुलनामा पल्सर सिरिजको माग र लोकप्रियता निकै माथि रहँदै आएको छ ।

विभिन्न समयमा पल्सर सिरिजलाई टक्कर दिन अन्य कम्पनीले नयाँ नयाँ मोडल ल्याएको भएपनि यसको प्रतिस्पर्धामा अन्य कम्पनीले ल्याएका मोडल खरो उत्रन सकेका छैनन् ।पल्सर सिरिजमा १५० सीसी क्षमताको मोटरसाइकलको बेग्लै पहिचान बनेको छ । यसलाई कम्पनीले रेगुलर मोडल क्लासिक र टिडी (दुबै चक्कामा डिस्क ब्रेक) भएको भेरियन्टमा बिक्री गर्दै आएको छ ।

केही दिनअघि टीभीएसले आफ्नो चर्चित मोटरसाइकल आरटीआर १६० फोर भि सिंगल डिस्क भेरियन्टको बिक्री सुरु गरेको थियो । जगदम्बा मोटर्सले यसको मूल्य पल्सर १५० टिडीको तुलनामा २ हजार रुपैयाँ बढी राखेर बिक्री सुरु गरेको हो ।

डबल डिस्क भेरियन्टको मूल्य २ लाख ८९ हजार ९०० रुपैयाँ रहेको आरटीआरको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ राखेको छ । जुन करिब १७ हजार रुपैयाँ सस्तो हो । कम्पनीले राखेको मूल्यले पल्सर १५० टिडीसँग सिधा प्रतिस्पर्धा गर्ने लक्ष्य भएको प्रस्टै देखिन्छ ।पछिल्ला दिनमा पल्सर १५० टिडीको बिक्री ठूलो संख्यामा भइरहेको छ । यसमै आफुलाई स्थापित गर्न टीभीएसले आरटीआर फोर भिको सिंगल डिस्क भेरियन्ट बजारमा उतारेको हो ।

यी दुई मोटरसाइकलमा डिजाइन, पावर लगायत विषयमा भिन्नता पाउन सकिन्छ । यस्तोमा बजाजको सर्वाधिक चर्चित मोटरसाइकललाई टीभीएसको सफल मोटरसाइकलले दिने टक्कर हेर्न लायक हुने अनुमान गर्न सकिन्छ ।बजाज पल्सर १५० टीडी र अपाचे आरटीआर १६० फोर भी सिगंल डिस्क बीच रहेको तुलनात्मक भिन्नता यसप्रकार छन् ।

इन्जिन

बजाज पल्सर १५० टीडीमा १४९.५ सीसी सिगंल सिलिन्डर एयर कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा १३.८ बीएच पावर तथा ६००० आरपीएममा १३.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

आरटीआर १६० सिगंल डिस्कमा १५९.७ सीसी सिगंल सिलिन्डर लिक्वीड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले ८२५० आरपीएममा १६.२ बीएच पावर तथा ६००० आरपीएममा १४.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

माइलेज

बजाज पल्सर १५० मा १५ लिटरको इन्धन स्टोरेज क्षमता रहेको छ भने आरटीआर १६० मा १२ लिटरको इन्धन क्षमता रहेको छ । बजाज पल्सर १५० ले प्रतिलिटर ६५ किलोमिटर र टीभीएसले ५० किलोमिटर प्रतिलिटर माइलेज दिने एआरएआईले प्रमाणित गरेको छ । तर, यी दुबै मोटरसाइकलको अनरोड माइलेज भने दाबी भन्दा कम आउने छ ।

ब्रेक/ह्वील

बजाज पल्सर १५० टिडीको दुबै चक्कामा डिस्क ब्रेक रहेको छ । यस्तै आरटीआर १६० मा सिगंल डिस्क रहेको छ । बजाज पल्सर १५० को फ्रन्टमा २६० एमएम र रियरमा २३० एमएमको डिस्क ब्रेक रहेको छ । यस्तै आरटीआर १६० को फ्रन्टमा २७० एमएमको डिस्क र रियरमा १३० एमएमको ड्रम ब्रेक रहेको छ । दुबै मोटरसाइकलमा समान १७ इन्चको ट्यूवलेस टायर र अलोय ह्वील दिइएको छ ।

सस्पेन्सन

बजाज पल्सर १५० को अगाडि एन्टी फ्रिक्सन टेलिस्कोपिक सस्पेन्सन र पछाडि ५ स्टेप एड्जष्टएबल निट्रोक्स सक एब्जर्बर रहेको छ । आरटीआर १६० को अगाडि टेलिस्कोपिक सस्पेन्सन र पछाडि मोनोशक सस्पेन्सन रहेको छ ।

अन्त्यमा, बजाज पल्सर माइलेज तथा संचालन खर्च कम हुने मोटरसाइकल हो । त्यस्तै आरटीआर १६० फोर भी स्टाइलिस डिजाइन र पावरफुल इन्जिनको कारण सफल बन्दै गएको मोटरसाइकल हो । मूल्य समान रहेको यी दुई मोटरसाइकल बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।

Related Articles

Back to top button
Close