News

हामीले ‘सपेरो’ लाई पो प्रधानमन्त्री बनाएछौं !

अन्दाजी पाँच/ छ बर्षका देखिने एक बालकको तस्वीर दुई दिनदेखि सामाजिक सञ्जालभरी भाइरल छ । फेसबुक र ट्वीटरमा व्यापक सेयर भएको उक्त तस्वीरमा एक बालक आफ्नो अगाडी भातको टपरी राखेर खुला आकासमा बसेका छन् । तस्वीरमा उनको पछाडी अरु केही मानिस पनि छन् लहरै बसेका । केही खाली टपरी त केहीले भात राखेको टपरी समातेका छन् । केही मानिस चाँहि हातमा खानाको बाल्टिन र डाँडु बोकेर यताउती गरिरहेजस्ता देखिन्छन् । राज्य संयन्त्रलाई गिज्याउने यीे कारुणिक दृष्य काठमाडौंको रत्नपार्कका हुन् । जहाँ मनकारीहरुले कयौं दिनदेखिका खाली पेट भरिरहेका छन्।
तस्विर सामाजिक सञ्जाल

चैत्र ११ देखिको लकडाउनका कारण श्रमजीवीको चुलो बल्न छोडेको छ । कतिपय भाडा तिर्न नसकेर कोठाबाट निकालिएका छन् । उनीहरु अहिले काठमाडौंका सडकमै रात काटिरहेका भेटिन्छन् । दिनभरि त खानाकै खोजीमा बित्छ । विभिन्न मनकारीहरुले काठमाडौंका विभिन्न ठाउँमा खानाको बन्दोबस्त गरिरहेका छन् । त्यही खानाको गास टिप्न मानिसहरु टाढाटाढाबाट आइपुग्छन् र कयौं दिनदेखिको भोको पेट एकदिनलाई भए पनि भर्छन् ।

रत्नपार्क यहाँ दैनिक सयौं मानिसहरु आउँछन् खानाको खोजीमा । कतिले पाउँछन् त कति रित्तो भेट फर्किन्छन् । भोलि फेरि खानाको खोजीमा हिड्ने निधो गरेर सुत्छन् खुला आकासमा । सडकपेटिमा ।

महामारीको बेला स्वास्थ्य सामग्री खरिदमा अनियमितताको खबर श्रमिकको कानमा पनि पर्यो होला। अझैं सर्प पाल्न ७२ करोडको बजेट दिइएको बारे पक्कै उनीहरु बेखर छैनन्। उनीहरुले यी खबरबारे के सोच्दा हुन? ‘हामी यता भोकै मर्ने अवस्थामा छौं, सरकार उता सर्पलाई ७२ करोड खुवाउँदैछ।’ सरकार बास्तवमा श्रमिकको रहेनछ। अनि उनीहरु भन्दा हुन् ‘हामीले सपेरालाई सरकारमा पठाएछौं।’

त्यही भिडमा भेटिए सिरहाका राकेश यादव । उमेरले ४० कटेका यादवले भेटभरि खान नपाएको पाँच महिना बढी भयो । लकडाउन सुरु भएको एक महिनासम्म त जेनतेन चुलो बल्यो । तर जब लकडाउन बढ्दै गयो उनको चुलो पनि एक दिन बिराएर बल्न थाल्यो । न्यूरोड क्षेत्रमा भारी बोकेर गुजारा गर्ने राकेशको आजभोलि चुलो के ओत लाग्ने ठाउँ समेत छैन । चार महिनासम्म भाडा र्तिन नसकेपछि घरबेटीले बस्न दिएनन्। भएका केही भाडाकुडा पनि दिएनन् । ‘घरबबेटीले पैसा लिएर आउनु लैजानु भनेका छन्’ उनले केटीएम दैनिकसँग भने, ‘मैले कहाँबाट पैसा दिनु? भेटभरि खान नपाएकै तीन चार महिना भैसक्यो। सडक पेटीमा सुत्छु । दिनभरि यसैगरी खानाको खोजीमा हिड्छु । कहिले पाइन्छ । कहिले त्यही पनि पाइदैन ।’
रत्नपार्कमा निशुल्क पाइने खानाको लागि लागेको मानिसहरुको भिड । तस्विर केटिएम दैनिक

उनको नजिकै थिए सप्तरीका बब्लु झा उनको पीडा पनि राकेशको भन्दा खासै फरक छैन । उमेरले राकेशभन्दा एक दशक कान्छा बब्लु पछिल्लो निषेधाज्ञादेखि राकेशसँगै छन् । खानाकै खोजीमा बित्छ उनीहरुको दिन । खानाको खोजीमा हिड्दा कयौंदिन प्रहरीको लाठी समेत खाएका छन् दुबै जनाले। ‘सरकारले बाहिर नआउ भन्छ। हामीले राम्ररी खानै नपाएको तीन चार महिना भैसक्यो। पहिलो त बस्ने कोठा पनि छैन । भाडा तिर्न नसकेपछि घरबेटीले निकालिदिए ।’ उनले कारुणिक स्वरमा भने, ‘कोरोनाले भन्दा हामी त भोकले मर्छौ। बाध्य भएर निस्केका हौं।’ उनले भने।

राकेश र बब्लु प्रतिनिधि पात्र मात्रै हुन्। दैनिक काम गरेर गुजारा गर्ने हजारौं मजदुरको चुलो बल्न छोडेको धेरै भैसक्यो। कतिपय कोठाबाट समेत निकालिएका छन्। सरकरले लकडाउन गरेर घरभित्रै बस भन्छ । बाहिर निस्के प्रहरीले लाठी हान्छ। उनीहरुलाई रोगले भन्दा भोगले मार्न आटिसक्यो। गर्नलाई केही काम छैन । खानलाई कोठामा गास छैन । लकडाउन शुरु हुनेबित्तिकै राहत बाड्न तम्सिएको सरकार त्यसपछि गुमनाम छ । लकडाउन र निषेधाज्ञा थपेरै कोरोना महामारी नियन्त्रण हुन्छ भन्ने ठानेको सरकारले नागरिकको जीवन बचाउन÷थोरै सहज बनाउन अरु केही गरिरहेको छैन ।

Related Articles

Back to top button
Close