Educational News

अन्ततः कोरोनाले रोकिएको पढाइ शु`रु गर्ने मिति नै तोकियो

पाँच महिनादेखि कोरोनाका कारण पठनपाठन ठप्प भएको सामुदायिक विद्यालय र निजी विद्यालयमा असोज १ गतेबाट पढाइ शुरु हुने भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक विद्यार्थी सिकाइ निर्देशिका जारी गरी पठनपाठन शुरु गर्ने भएको हो । सो निर्देशिका दुई दिनभित्र सार्वजनिक हुनेछ ।

प्रधानमन्त्री केपी ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई वैकल्पिक विधिबाट तत्काल पठनपाठन शुरु गराउन र निजी विद्यालयलाई सो माध्यमबाट पढाएबापत शुल्क लिने व्यवस्था तत्काल लागू गर्न निर्देशन दिएपछि मन्त्री पोखरेलले निर्देशिका तयार गर्न लाग्नुभएको हो ।मन्त्रालय स्रोतका अनुसार सम्भवतः मंगलबारभित्र निर्देशिका जारी गरी असोजबाट पठनपाठन शुरु गर्न देशैभरका विद्यालयलाई निर्देशन दिनुहुने सम्भावना रहेको छ ।

निर्देशिकामा विद्यार्थी भर्ना गरी शैक्षिक तथ्यांक तयार गर्ने, पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमलाई समायोजन गरी करिब ७० प्रतिशत मात्र पढाउने व्यवस्था गर्नेछ । निर्देशिकामा पाठ्यक्रम विकास केन्द्रले पाठ्यभार समायोजन गर्ने विषय उल्लेख छ ।

शिक्षामन्त्री पोखरेलले शुक्रबार भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी निर्देशिका सार्वजनिक गरी वैकल्पिक विधिबाट पठनपाठन शुरु गरिने बताउनुभएको थियो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले निर्देशिका जारी भएपछि सबै विद्यालयले अनिवार्यरुपमा पठनपाठन शुरु गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘सम्भवतः असोज महिनाभित्र निर्देशिकाअनुसार पढाइ शुरु गर्नुपर्नेछ ।’

केही विद्यालयबाहेकका शिक्षकले करिब चार महिना घरमै बसेर तलब खाएका थिए, अब वैकल्पिक विधिबाट पढाइ शुरु गर्नुपर्ने भएपछि विद्यालय भएको जिल्लामा पुग्नुपर्नेछ ।मन्त्री पोखरेलले बाहिर जिल्लाबाट विद्यालय पुग्ने शिक्षकले अनिवार्यरुपमा १४ दिन क्वारेन्टाइनमा बस्नुपर्ने बताउनुभयो । सूचना र प्रविधिसँग टाढा भएका शिक्षकलाई वैकल्पिक कक्षाले प्रविधिसँग नजिक बनाउने मन्त्री पोखरेलको भनाइ छ ।निर्देशिकामा शिक्षकले पढाए नपढाएको विषयमा प्रधानाध्यापकलाई साप्ताहिक कार्यप्रगति विवरण अनिवार्यरूपमा पेस गर्नुपर्ने भएको छ । त्यस्तै प्रधानाध्यापकले सबै शिक्षकको कार्यप्रगति विवरण पाक्षिकरुपमास्थानीय तहको शिक्षा हेर्ने कार्यालयमा पेस गर्नुपर्नेछ ।

सोअनुसार मन्त्रालयले नेपाल टेलिकमलगायत इन्टरनेट सेवा प्रदायक संस्थाबाट शैक्षिक प्रयोजनका लागि मात्र हुने गरी निःशुल्क वा सहुलियत शुल्कमा डाटा प्याकेज लिएर विद्यालय तथा विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउनुपर्नेछ । मन्त्री पोखरेलले त्यसका लागि नेपाल टेलिकमसँग कुराकानी गरिसकेको जानकारी दिनुभयो ।निर्देशिकामा मन्त्रालयले एकीकृत शिक्षा पोर्टलको निर्माण तथा सञ्चालन, शैक्षिक टेलिभिजन च्यानल स्थापना र सञ्चालन, भर्चुअल ल्याब, ई–क्लाउड प्रयोगशाला र ई–लाइब्रेरी स्थापना, खरिद तथा गर्न आवश्यक बजेट गर्ने गनुपर्नेछ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ई–लर्निङ पोर्टलमा भएका र विकास गरिएका सामग्रीलाई सिडी, पेनड्राइभ, हार्डडिस्क, सिस्टम जस्ता अफलाइन मोडमा रूपान्तरण गरी विद्युतीय प्रति उपलब्ध गराउने, सबै वर्गका विद्यार्थीलाई उपयोग गर्न मिल्ने डिजिटल र छापा सामग्री तयार गरी बजेट व्यवस्थापन गर्ने रहेको छ ।

प्रदेश सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार गरेको सामग्री प्रदेशस्तरमा टेलिभिजन तथा रेडियोबाट प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रिय पाठ्यक्रम प्रारूपबमोजिम प्रदेशस्तरमा रेडियो, टेलिभिजन र अनलाइनका कार्यक्रमहरू उत्पादन गरी प्रसारण गर्ने, गराउने लेखिएको छ ।प्रदेशबाट उत्पादन तथा प्रसारण भएका सामग्रीहरू प्रदेश सामाजिक विकास मन्त्रालय र शिक्षा विकास निर्देशनालयको वेबसाइटमा राख्ने र त्यसलाई शिक्षा तथा मानव स्रोत विकास केन्द्रको लर्निङ प्रोटलसँग लिङ्क गर्नुपर्नेछ ।

Related Articles

Back to top button
Close