Corona (COVID-19) Updates

कोरोना संक्रमणलाई लिएर नेपालका लागि आयो यस्तो डरलाग्दो खबर

काठमाडौं । नेपालमा कोरोना भाइरसको सङ्क्रमणमात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ । कोरोनाबाट शनिबार मात्रै १२ जनाको मृत्यु भएको छ । तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ । भदौ यता कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।

नेपालमा पहिलो कोरोना सङ्क्रमितको मृत्यु गत जेठ २ गते भएको थियो । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा सागरकुमार राजभण्डारी नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेमा दीर्घरोगी धेरै रहेको बताउँछन् । उनीहरु लामो समयदेखि विभिन्न रोगसित लड्दै आएका तथा औषधि सेवन गरिरहेका पाइएको छ । समुदायमा कोरोना फैलँदै गएकाले मृत्यु दर ह्वात्तै बढ्ने राजभण्डारीले बताए ।

काठमाडौँ उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको छ । काठमाडौँ महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् । शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमित बढेको बताउँछन् ।

बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौँमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ । बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको पाइएको छ । काठमाडौँ उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएको छ । अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन् । रासस

Related Articles

Back to top button
Close