Corona (COVID-19) Updates

७१ पत्रकारमा देखियो कोरोना संक्रमण, सतर्क रहन महासंघको अनुरोध

नेपालमा शुक्रबारसम्म ७१ जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघका अनुसार सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशमा पत्रकार पनि कोरोना संक्रमित भएका छन् ।

प्रदेश १ मा १३ जना पत्रकार कोरोना संक्रमित भएकामा मोरङका १२ र उदयपुरका १ जना रहेका छन् ।प्रदेश २ मा २७ जना पत्रकार संक्रमित भएकामा पर्साका १३, बाराका ४, धनुषाका २, सप्तरीका ३, सर्लाहीका ३, महोत्तरीका १ र रौतहटका १ जना रहेका छन् ।

बागमती प्रदेशमा ११ जना पत्रकार संक्रमित भएकामा काठमाडौंका ९ र ललितपुरका २ जना रहेका छन् ।यसैगरी गण्डकी प्रदेशमा कास्कीका १ र नवलपुरका ७ गरी ८ जना संक्रमित भएका छन् ।प्रदेश ५ मा बाँकेका २, बर्दियाका १, कपिलवस्तुका ६ र रुपन्देहीका २ गरी ११ जना संक्रमित भएका छन् ।

कर्णालीकी दैलेख जिल्लामा १ जना पत्रकार संक्रमित भएका छन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेपाल पत्रकार महासंघले पत्रकारहरुमा कोरोना संक्रमण देखिने क्रम तिब्र रुपमा बढेकोले सतर्क भएर काम गर्न अनुरोध गरेको छ ।

त्यस्तै यो विषम परिस्थितिमा संक्रमणको उच्च जोखिमका बीच अग्रभागमा रहेर नेपाली सञ्चार क्षेत्रले निर्वाह गरिरहेको भूमिका सराहनीय रहेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । विशेषगरी फिल्डमा खटिने सम्वाददाता, फोटो पत्रकार र क्यामेरा पर्सनहरु संक्रमणको उच्च जोखिममा रहेका महासंघको ठहर छ । महासंघले संक्रमणको उच्च जोखिमका बीच फिल्डमा खटिने सञ्चारकर्मीहरुको निःशुल्क पीसीआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै पत्रकारहरुको उपचारको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दछ ।

Related Articles

Back to top button
Close