NewsVideos

बाबु-छोरी जो दिनहुँ ३ सय जना लकडाउन पीडितलाई सडकमा खाना खुवाउदै (भिडियो सहित)

लकडाउनका कारण सुनसान छ टिकाथली । मानिसहरु घरभित्रै थुनिएका छन। तर, विनय जङ्ग बस्नेत र सपना रोका मगरको दैनिकी टिकाथलीकै वडा नम्बर–५ स्थित सडकमा भोका मानिसलाई सेवा गर्ने क्रममा बित्छ ।बिहानै उठेर दालमोठ, चिउरा, चाउचाउ लिएर उनीहरु पशुपति पुग्छन् । रोजगार गुमाएका, घर/डेरा नभएर भोकले छ’ट्पटाइ रहेकाहरूलाई बाँड्छन् ।

मध्यदिनको १२ बजे घर फर्किन्छन् ।घर पुगेपछि चामल केलाउन थाल्छिन् छोरी सपना । अनि विनय र उनका साथीहरु लाग्छन् तरकारी बनाउनतिर । सानो भवनमा ६/७ जना मानिस करिब ३ सय जनाको लागि खाना पकाउन लागि पर्छन् । त्यही बाटो भएर जानेहरुले ठूलो भाँडामा खाना पकाइरहे को दृश्य देख्दा अचम्मित भएर सोध्ने गर्छन्, ‘लकडाउनको बेला पनि ठूलो उत्सव हुँदै छ र ?’

तर, कुनै उत्सवको लागि ती बाबु छोरीले खाना पकाइरहेका होइनन् । कोभिड–१९ का कारण नेपालमा पहिलो पटक गरिएको लकडाउन देखि नै यी बाबु छोरीले सडकमा गएर दालमोठ चिउरा बाँड्ने गरेका थिए । सरकारले दोस्रोपटक लकडाउन गरेयता उनीहरु भोकाएका मानिसहरुका लागि खानाको व्यवस्था गर्दै आएका छन् । विनय र सपना बेवारिसे लास पोल्ने मान्छे हुन् ।

उनीहरु चाहँदैनन्, कोही मान्छे भोको पेटकै कारण मरोस् र उनीहरुलाई जलाउनु परोस् । ‘सडकमा खान नपाएर मानिसहरु भोको पेट कै कारण मर्छन् । हामी त्यसरी मरेको र बेवारिसे लासलाई जलाउन चाहँदैनौं,’ विनय सुनाउँ छन्, ‘त्यसैले कसैलाई भोकको कारण मर्न नदिऊँ भन्ने हाम्रो चाहना छ ।’ यही चाहनाका साथ टिकाथलीबाट पशुपतिसम्म प्याकिङ गरेर बाइकमा खाना पशुपति पुर्‍याउँछन् उनीहरु । र प्रफुल्ल मनले खाना वितरण गर्छन् ।

यसरी अरुको भोक सहन नसक्ने सपना आफ्नै घरमा खान्की सकिएको पत्तो पाउँदिनन् । एकदिन घर फर्कँदा रातको ८ बजेको थियो । खाना पकाउन चामल हेरिछन्, सकिएछ । ‘पसल जाऊँ सबै बन्द, पछि छिमेकी दिदीसँग एक छाक पुग्ने चामल मागेर खाना बनाएँ । यो कुरा बुबालाई सुनाएको छैन,’ सपना सुटुक्क भन्दै थिइन् । बाबु छोरीको भोका मान्छेहरुसँग गहिरो प्रेम र सहानुभूति छ ।

उनीहरुलाई थाहा छ भोकको चित्कार । ‘हामी बाबु छोरी सडकमै भेटिएका, हामी भोको हुँदा यसरी खाना खुवाउने मान्छे थिएनन्, त्यसरी बस्दाको पीडा र छट्पटी कस्तो हुन्छ भनेर थाहा छ,’ विनय सुनाउँछन् । सडकमा खाना खुवाइ रहँदा बाबु छोरीले थाहा पाएका छन्– यहाँ धेरै मान्छे बेवारिसे छन् । ‘सरकारले काठमाडौं सडकमा कोही पनि भोको मर्नु पर्दैन भन्छ ।

तर तपाईंहरुले देखिहाल्नुभयो, हामीलाई पर्खेर बसिरहेका मान्छेहरुको अवस्था,’ सपना लाइन लागेर बसिरहेका मानिस तर्फ इंगित गर्दै भन्छिन् । केही सहयोग त बाबु छोरीलाई विदेशमा रहेका मान्छेहरुले पठाउँछन् । तर, सधैं सम्भव हुन्न त्यसरी । आफैंले ला,स पोलेर जो-हो गरेको पैसा पनि यसैमा खर्च गरेका छन् उनीहरुले । विस्तारै थपिँदै गएका मान्छे देख्दा सपना लाई चिन्ता पनि लाग्छ थालेको छ- कतै नुपग्ने पो हो कि ! उनलाई चिन्ताले गाँजिरहन्छ- यदि भोकै कोही मान्छे फेरि यही सडकमा मरे भने ! भन्छिन्, ‘चिन्ता यसैको छ कि कोही अकालमै मर्नु नपरोस् ।’भिडियो हेर्नुहोला

Related Articles

Back to top button
Close