चीनको सिको गर्दै भरतपुर, कोरोनाको उपचार गर्ने अस्पताल ७२ घण्टामै बनाउने
चितवन । चीनको वुहान क्षेत्रमा कोरोना भाइरस तिब्र रुपमा फैलिए पछि चीन सरकारले विश्वलाई नै चकित पर्ने गरी १० दिनमै अस्पताल तयार बनायो । कोरोना भाइरसका बिरामीलाई मात्र उपचार गर्ने अस्पताल निर्माण गरेर १० दिनमै उपचार सुरु पनि भयो । नेपालमा पनि त्यसको सिको गर्दै भरतपुर महानगरपालिकाले ७२ घण्टा भित्रै उपचार केन्द्रको रुपमा अस्पताल बनाउने भएको छ । जिल्लामा आवश्यक सुविधासहितको आइसियु, एचडीयु र जनरल वार्डसहित ७० शैयाको अस्पताल अस्पताल बनाउन तयारी समेत सुरु गरिएको छ । त्यसको तयारी थालिएको नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष अनिलविक्रम जानकारी दिएका छन् ।
चारैतिर पर्खालले घेरिएको र प्रयाप्त स्थान भएकोले चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा नै अस्थायी अस्पताल बनाउन लागिएको हो । जसमा कोरोना भाइरस लागेकाहरुको उपचार गरिनेछ । त्यसका लागि आवश्यक सम्पूर्ण उपकरण पनि त्यो अस्थायी अस्पतालमा उपलब्ध हुनेछ । भरतपुर कोरोना विशेष अस्पताल नाम दिइएको त्यसका लागि आइसियु र हाइ डिपेन्डेन्ट यूनिट (एचडियु) १०, १० शैयाको हुने छ। बाँकी ५० जनरल बेड हुने बताइएको छ । ‘पहिलो चौविस घण्टामा पूर्वाधार बनाउने त्यसको ४८ घण्टामा मेडिकल सामाग्री ल्याएर सेवा सुरु गर्ने योजनाका साथ काम थालिएको छ । कोरोना भएको पुष्टि भैहाले त्यसवाट अन्यत्र सर्ने अवस्था नहोस भनेर यस्तो अस्पताल निर्माण गर्न लागिएको बताइएको छ ।
उद्योग संघको कार्यालयमा भएका भौतिक पुर्वाधारलाई प्रयोग गरेर अस्थायी अस्पताल बनाइने भएको हो । कार्यालयसँगै जोडिएको तीन वटा ठुला हल छन्। त्यसमा आइसियु, एचडियु र जनरल बेड छुट्टाछुट्टै राखिने भएको छ। महामारी हुन नदिन सजगता अपनाइएको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बताएकी छन्। अस्पताल निर्माणका लागि जिल्लामा रहेका सबै सरोकारवाला निकायले समन्वय गरेका छन् ।
विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सुरुवातमै आइसियुको लागि आठवटा उच्च स्तरको वेड र आठवटा भेन्टिलेटर उपलब्ध गराउने प्रतिवद्धता पनि जनाएको छ । जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्य संस्थामा परीक्षणको क्रममा शंका लागेमा पनि ति बिरामीलाई कोरोना अस्थायी अस्पतालमा पठाउने छन्। अन्य स्थानमा स्क्रिनिङ गरेपछि मात्रै उक्त अस्पतालमा बिरमी पठाइने छ।