Corona (COVID-19) Updates

चीनले बनाएको कोरोना वि रुद्धको खोप नेपाल आउँदै

काठमाडौँ – चिनियाँ जनमुक्ति सेनाले निर्माण गरेको कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप नेपालमा ल्याइने भएको छ । खोपको तेस्रो चरणको परीक्षणका लागि नेपाल ल्याउन लागिएको हो ।

चिनियाँ जनमुक्ति सेनाले नेपाल लगायत विश्वभरका विभिन्न देशहरुमा परिक्षण गर्ने क्रममा नेपालमा पनि आउन लागेको हो । खोप परीक्षणको लागि आवश्यक प्रक्रिया अघि बढिसकेको जनाइएको छ । यो खोप चीन सरकारले परिक्षणका लागि अनुमति दिएपछि तेश्रो चरणको परिक्षण थालिएको हो ।

खोप परीक्षणको लागि स्वास्थ्य मन्त्रालयले परराष्ट्र मन्त्रालयमा पत्र पठाएको र त्यसबारे परराष्ट्र र राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदबीच विभिन्न चरणमा छलफल भइरहेको छ । नेपालमा औषधि तथा खोपहरूको परीक्षणको नियमन गर्ने अधिकार राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदलाई छ ।

चीनले नेपालमा पहिलो परीक्षण आफ्नै नागरिकमाथि गर्ने तयारी गरिरहेको छ । चीनले होङ्सी सिमेन्टमा कार्यरत चिनियाँ कामदारमाथि पहिलो परीक्षण गर्ने तयारी गरेको दूतावास स्रोतले जनाएको छ । होङ्सी सिमेन्टका निर्देशक सतीश मोरले पनि खोप परीक्षणको लागि छलफल भइरहेको बताए । उनले परीक्षणको लागि चीनबाट खोप मगाउन कोशिश गरिरहेको बताउँदै नेपाल र चीन दुबै सरकारले अनुमति दिएमात्रै सम्भव हुने बताए ।

होङ्सी सिमेन्ट नेपालकै सबैभन्दा ठूलो मानिन्छ । उक्त सिमेन्ट कारखानामा चीनको होङ्सी समूह अन्तर्गतको हङकङ रेड लायन नम्बर ३ सिमेन्ट कम्पनी लिमिटेडको ७० प्रतिशत र नेपालको शिवम सिमेन्टको ३० प्रतिशत लगानी छ । होङसीमा २ सय भन्दा बढी चिनियाँ कार्यरत छन् । खोप परीक्षणको लागि कम्पनीले फारम भरिरहेको छ । नेपाली कामदार राजिखुशीले परीक्षणको लागि तयार भएमा उनीहरुको पनि गर्ने बताइएको छ ।

खोपको तेस्रो परीक्षणको लागि चीनले नेपाल आउन चाहेको स्वास्थ्य अनुसन्धान परिषद्का अधिकारीहरु बताउँछन् । त्यसको लागि आवश्यक प्रक्रिया पूरा गर्नेबारे परिषदले गृहकार्य अगाडि बढाएको छ ।

चिनियाँ खोपको तेस्रो चरणको परीक्षण यूएई, ब्राजिल र साउदी अरेबीयामा सुरु भइसकेको छ भने पेरू र इन्डोनेशियाले पनि परीक्षणमा सहभागी हुने निर्णय गरेका छन् । नेपालमा पनि जनमुक्ति सेनाले तयार गरेको खोपको परीक्षण गर्न लागिएको हो ।

Related Articles

Back to top button
Close