यो पनि पढ्नुस्
बढ्ता नबोल्नुस् ! समातेर लैजाम् ?
४ भदौ, काठमाडौं । समयः बिहान ०७ : ३० बजे । स्थान : काठमाडौं महानगरपालिका- १६, एकलटार
एक पुरुष र एक महिला ग्राहक पाल्पाली डेरी एन्ड बेकरी सपतिर जाँदैछन् । त्यहीबेला बा१झ ७४५५ नम्बरको प्रहरी भ्यान साइरन बजाउँदै आइपुग्छ ।प्रहरी : तपाईंहरू किन निस्किएको ? ए ! सुन्नुभएन ? तपाईंहरू जानुस् ।
पुरुष ग्राहक : बिहान दूध त किन्न पाउन पर्यो नि सर । गाडीबाट निस्किँदै महिला प्रहरी : यत्रो बेरसम्म के हेरेर बस्नुभएको थियो ?
महिला ग्राहक ; हैन, दूध किन्न त पर्यो नि ।
पुरुष ग्राहक : अघि दुईपटक आउँदा दूध आएकै रहेन छ । बच्चालाई खुवाउने दूध त लान पाउन पर्यो नि ।
पुरुष प्रहरी : दूध नआउने हाम्रो समस्या होइन । बढ्ता नबोल्नुस्, समातेर लैजाम् ?
प्रहरी र ग्राहकबीचको भनाभनपछि डेरी सञ्चालक महिलाले ‘अत्यावश्यक सेवा त चल्न पाउँछ नि’ भन्छिन् र डेरीको सटर तान्छिन् । ग्राहकले दूध लैजान पाउँदैनन् । प्रहरीहरू केही जवाफ नदिई हिँड्छन् ।
भदौ ४ गते बिहान ६ बजेदेखि नै प्रहरीहरू टोलका खाद्यान्न, तरकारी, दुग्ध डेरीलगायतको पसल बन्द गर्दै हिँडेको स्थानीयहरूले बताए । कालीमाटीबाट तरकारी ल्याउने बित्तिक्कै प्रहरी आएर पसल बन्द नगरे उठाएर लैजाने धम्की दिएको एकलटारकै गोरखा धावा एबीसी फलफूल तथा तरकारी पसलका सञ्चालकले बताए ।
निषेधाज्ञाको समया पनि तरकारी, फलफूल, दूध खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको व्यापार हुने समाचार सुने पनि प्रहरीले दुःख दिएको पसल सञ्चालकहरूको गुनासो छ । प्रहरीले औषधि पसलबाहेक अन्य सबै सेवा रोकेको बालाजु क्षेत्रका पसलेहरूले बताए ।
उपभोक्ता अधिकारकर्मी माधव तिमल्सिनाले काठमाडौं-१६, माछापोखरी क्षेत्रमा प्रहरीले सबै सेवा बन्द गरेको सूचना फेसबुकमा पोस्ट गर्दै जिल्ला प्रशासनको निर्देशनलाई प्रहरीले फरक ढंगबाट बुझेकाले समन्वय गर्न आग्रह गरेका छन्।