Thoughts

व्रत म पनि बस्छु, तर राताे सारी र चुरा लगाउन पाउँदिन

दर खाने दिन, अपराह्न ४ बजेतिर हल्का पानी परिरहेकाे छ। निषेधाज्ञाका कारण शून्यप्राय: लाजिम्पाट सडकमा ट्राफिक प्रहरीकाे वर्दी, टाेपी अनि फेस शिल्डमा भेटिइन् ट्राफिक प्रहरी पुष्पा जीसी।

अधिकांश हिन्दू दिदीबहिनीहरु बेलुकाकाे दरका लागि घरघरमा तयारी गरिरहँदा सुर्खेत घर भएर २०७३ सालमा ट्राफिक प्रहरीमा भर्ना भएकी पुष्पा सँगै ड्युटीमा रहेका सशस्त्र प्रहरीका दुई पुरुष सहकर्मीसरह उत्तिकै कर्तव्यनिष्ठ हिसाबले सडकमा ड्युटीमा खटिएकी थिइन्। तीजकाे माहाेलमा ड्युटी गरिरहँदा उनकाे अनुहारमा कुनै ग्लानि भाव थिएन।

निषेधाज्ञाका बीच ड्युटी र तीजकाे माहाेल दुवैलाई जाेडेर कुरा गर्ने अनुमति पाएपछि हामीले साेध्याैँ, ‘तीजकाे बेला अन्य दिदीबहिनीहरु दर र रमाइलाेकाे तयारीमा जुटिरहँदा तपाइँ यसरी ड्युटीमा खटिनुपरेकाे छ, कस्ताे लागिरहेछ?’

उनले नीर्भीक स्वरमा जवाफ दिइन्,’म राष्ट्रसेवक कर्मचारी हुँ, चाडबाड भन्दा पनि हामीले सुरक्षा व्यवस्थामा ध्यान दिनु पर्छ। लकडाउन नभएकाे भए पनि हामीले छुट्टी पाउँदैनथ्याैं। आफ्नै रहरमा राेजेकाे पेशा भएकाेले छुट्टी नपाउँदा पनि म खुसी नै छु। हामी नै छुट्टी बसे तीज मनाउने सर्वसाधारण दिदीबहिनीकाे सुरक्षा कसले गर्छ?’

‘अनि तीज मनाउन रहर लाग्दैन?’ हाम्राे प्रश्न खस्न नपाउँदै उनी बाेलिन्, ‘रहर त लाग्छ नि, त्यही माहाेलमा हुर्के बढेकाे हुनाले दर खाने, व्रत बस्ने अनि राताे सारी र चुरा लगाएर छमछम नाच्ने रहर त किन नलाग्नु, तर राष्ट्रसेवा गर्ने अठाेट लिएर जागिर खाएकाे छु, यति बेला मलाई नारी भन्दा पनि राष्ट्रसेवक कर्मचारी हुँ भन्ने भावनाले जित्छ र ड्युटीमा खटिन्छु।’

हाम्रा प्रत्येक प्रश्नकाे जवाफ सटिक हिसाबले सरर दिँदै थिइन् उनी।

प्रहरीलाई के दशैं कुन तिहार भने झैं महिला दिदीबहिनीहरुले नाचगान र रमाइलाे गर्दा व्यवस्थापन गर्नुपर्ने भएकाले त्यही हेरेर नै रमाउने गरेकाे उनले सुनाइन्। ‘प्रहरी सेवामा जागिर खाएपछि दशैं तिहार तीज केही भन्न मिल्दैन। सामान्य अवस्थामा बिदा मिल्याे भने सबै सरह तीज र अन्य चाड मनाउन पाइन्छ। मनभित्र त तिनै दिदीबहिनी सँगै गएर छमछम नाचाैँ जस्ताे चाहिँ पक्कै लाग्छ।’

‘दरकाे कार्यक्रम के कसाे छ?’ हामीले साेध्याैँ।

‘अघिल्ला वर्षहरुमा दर खाने दिन अफिसमा बिदा पाइन्थ्याे। हाम्रा सिनियर सरहरुले नै हाम्रा लागि तीज विशेष कार्यक्रम राखिदिनुहुन्थ्याे। तर यसपाली काेभिड-१९ का कारण परिस्थिति गम्भीर छ’, उनले सुनाइन्।

यसाे भन्दै गर्दा अघिल्ला वर्षहरुमा तीजकाे केही दिनअघिदेखि नै महिला सहकर्मीहरु एक आपसमा मिलेर ड्युटी आवर सकिएपछि दर खाएर रमाइलाे गरेकाे उनले सम्झना गरिन्। घर जान नपाए पनि र बिदा नपाइए पनि एक आपसमा मिलेर चाड मनाउने गरेकाे सुन्दा हामीलाई पनि खुशी लाग्यो।

‘तपाइँले अन्तिम पटक सामान्य नागरिक (राष्ट्रसेवक प्रहरीका रुपमा हाेइन) का रुपमा कहिले तीज मनाउनुभएकाे थियाे?’ भन्ने हाम्राे जिज्ञासामा उनले भनिन्, ‘चार वर्षअघि म प्रहरी सेवामा प्रवेश गरेकाे वर्ष आफन्त साथीसँगी तथा घरपरिवारसँग बसेर तीज मनाएकाे थिएँ। मैले यो सेवा नै तिजको भोलिपल्ट सुरु गरेकी हुँ।’नेपालीपत्रिका

Related Articles

Back to top button
Close