Lockdown News

बैङ्कका कर्मचारीलाई आजबाट सहजीकरण गरिने, फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने

काठमाडौँ, ५ भदौ । प्रहरीले उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा उलङ्घन गर्नेलाई स्थलगत कारबाही गरेको छ । तीनवटै जिल्लाबाट गरी निषेधाज्ञा उलङ्घन गर्ने करिब तीनहजार सवारी साधनलाई कारबाही गरिएको छ ।

त्यस्तै, एक हजार २२० जनालाई सडकमै बनाइएका होल्डिङ सेण्टरमा एकघण्टा राखेर कारबाही गरिएको छ । महानगरीय प्रहरी प्रमुख विश्वराज पोखरेलले विभिन्न स्थानमा ‘होल्डिङ सेण्टर’ बनाई कारबाही गरिएको बताउनुभयो ।

निषेधाज्ञा उलङ्घन गरी आफन्त भेट्न तथा बैङ्क र वित्तीय संस्थामा जाँदै गरेकाहरू पनि कारबाहीमा परेका छन् । आफूखुशी सञ्चालनमा आएका सवारी साधन र चालकलाई नियन्त्रणमा लिई कारबाही गरिएको छ ।

कोरोना सङ्क्रमण भयावह बन्दै गएको बेला पनि कतिपय नागरिकले अटेर गर्ने, मास्क प्रयोग नगर्ने र सामाजिक दूरी कायम नराखी लखर–लखर सडकमा हिँड्दा सुरक्षाकर्मीसमेत जोखिममा रहेको उहाँले बताउनुभयो ।

बैङ्क कर्मचारीका लागि शुक्रबारबाट सहजीकरण
बैङ्क तथा वित्तीय संस्थासंग आबद्ध कर्मचारीलाई शुक्रबारबाट कार्यालय आवतजावतमा सहजीकरण गरिने भएको छ ।

निषेधाज्ञाको पहिलो दिन सुरक्षाकर्मीले रोक लगाएपनि शुक्रबारबाट भने बिहान ९ बजेदेखि १०ः३० बजेसम्म र साँझ ३ः३० देखि ५ः३० बजेसम्म सहजीकरण गर्न लागिएको हो ।

विभिन्न बैङ्क तथा वित्तीय संस्थाका कर्मचारीहरूले कार्यालयबाट जारी फोटोसहितको परिचय पत्र अनिवार्य प्रयोग गर्नुपर्ने हुन्छ । मास्क र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

Related Articles

Back to top button
Close