भोलिबाट उपत्यकामा दैनिक ८ वटा मात्रै बैंकको शाखा खोल्ने
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले एक साताका लागि निषेधाज्ञा जारी गरेसँगै बैंकहरूले पनि सीमित शाखाहरूबाट मात्रै सेवा उपलब्ध गराउने तयारी गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा बैंकिङ्ग सेवा लगायत विभिन्न निकायहरुले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउनुपर्ने र सो सम्भव नभएमा नेपाल राष्ट्र बैंकले तोकेको संख्यामा सीमित रही आवश्यक सेवा प्रवाह गर्न सक्ने बताएको थियो ।
भोली बिहिबारबाट एउटा वाणिज्य बैंकले काठमाडौं उपत्यकामा दैनिक बढीमा ८ वटा शाखाबाट मात्रै सेवा प्रदान गर्ने गरी तयारी गरेको बैकर्स संघका कार्यकारी प्रमुख अनिल शर्माले जानकारी दिए ।
“अब राष्ट्र बैंकको निर्देशन कस्तो आउँछ, हाम्रो तयारी भने प्रत्येक बैंकले निषेधाज्ञामा काठमाडौं मा ५, ललितपुरमा २ र भक्तपुरमा १ वटा शाखा आलोपालो खोलेर अत्यावश्यक सेवा नियमित राख्ने भन्ने हो ।”
बैकर्स संघमा नेपालमा संचालित २७ वटा वाणिज्य बैंकहरु सदस्यहरु रहेका छन् ।