कारमा चराले अण्डा पारेपछि दुबईका राजकुमारले उठाए यस्तो कदम, भयो सर्वत्र प्रशंसा ! [भिडियो]
एजेन्सी – ‘चराले जहाँ गुँड बनाउँछ, त्यो नै उसको घर हो’ – यो प्रकृतिको अलिखित नियम नै हो। यस अर्थमा हाम्रो घरमा गुँड बनायो भन्दैमा हामी चराको गुँड भत्काउन पाउँदैनौं। यहि प्राकृतिक नियमलाई मानेकै कारण दुबईका राजकुमार यति बेला सामाजिक संजाल तथा इन्टरनेटमा प्रशंसाको पात्र बनिरहेका छन्।
खासमा, दुबईका क्राउन प्रिन्स शेख हमदान बिन मोहम्मद बिन रशीद अल मकतूमको एक कारमा चराले गुँड बनाएको थियो। गुँडमा चराले अण्डा समेत पारेको थियो।
छिट्टै आमा बुबा बन्ने तयारीमा रहेका उक्त जोडी चराको घर उनले बिगार्न चाहेनन्। न त उनले गुँड सार्ने सोच नै लिए। चराको गुँड भत्काउन उचित नहुने भन्दै उनले उक्त कार प्रयोग गर्न नै छाडिदिए। उनले चराको गुँडको सुरक्षाको लागि कारको वरिपरी रातो डोरी पनि बाँधीदिए।
शेख हमदान सामाजिक संजालहरुमा समेत सक्रिय छन्। उनले इन्स्टाग्राममा चराले आफ्नो कारमा गुँड बनाएको एक भिडियो सार्वजनिक पनि गरेका छन्। भिडियो सार्वजनिक गर्दै उनले लेखेका छन्,”कहिलेकाँही जीवनमा साना भन्दा साना कुराहरु पनि महत्वपूर्ण भइदिन्छन्।”
सामाजिक संजालमा अहिले शेख हमदानको राम्रै चर्चा भइरहेको छ। इन्स्टाग्राम प्रयोगकर्ताहरु उक्त भिडियोमा प्रतिक्रिया जनाउँदै उनको प्रशंसा गरिरहेका छन्।
एक प्रयोगकर्ता लेख्छन्,’साना-साना कुराले पनि ठूलो महत्वराख्छ र त्यसले जीवनमा धेरै खुसि दिन्छ।’ अर्का एक लेख्छन्,’यो भिडियोले मेरो दिन गज्जब बनाउने भयो।’