Corona (COVID-19) Updates

वाइवाई चाउचाउको उद्योगमा पनि कोरोना, बन्द गर्ने तयारी

इनरुवा, १ भदाै । सुनसरीकाे औराबनीमा संचालनमा रहेको सीजी फुड्स प्रा.लि.मा कार्यरत चारजना कामदारमा काेराेना संक्रमण देखिएकाे छ । उनीहरूसहित सुनसरीमा नयाँ ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय सुनसरीले पछिल्लो अवस्थासम्म प्राप्त रिपोर्टअनुसार जिल्लाबाट स्वाब संकलन गरिएका मध्ये ३२ जना नयाँ संक्रमित थपिएकाे जानकारी दिएकाे छ ।

औराबनीमा संचालनमा रहेको चाउचाउ उद्योगका कामदारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै गाउँपालिकाले उक्त उद्योग बन्द गराउनेतर्फ पहल थालेको छ । सीजीले वाइवाइ चाउचाउलगायत खानेकुरा उत्पादन गर्ने गर्छ ।

३ सय बढी कामदार कार्यरत सीजी उद्योगका कामदारमा संक्रमण देखिए पछि समुदायमा जोखिम बढेको भन्दै उद्योग बन्द गर्ने तर्फ प्रकृया अघि बढाइएको प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले बताए ।

कामदारहरुलाई कार्यालयभित्रै राखेर उद्योग संचालन गर्नुपर्ने भए पनि सीजीमा कार्यरत कामदार भने घरबाटै आउजाउ गर्दै आएको गाउँपालिकाले जनाएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय सुनसरीका २ थुनुवामा समेत कोरोनाको संक्रमण पुष्टि भएको छ ।

हालसम्म सुनसरी जिल्लामा मात्र कुल संक्रमितको संख्या ३ सय ३२ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Related Articles

Back to top button
Close