Educational News

त्रिविले परीक्षा नलिई माथिल्लो सेमेस्टर पढाउने    

काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) का कारण त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर प्रभावित भएको छ । स्नातक र स्नातकोत्तरको परीक्षा प्रभावित हुँदा ४ लाख १५ हजार विद्यार्थी अन्योलमा छन् । शैक्षिकसत्र प्रभावित हुने भएपछि विश्वविद्यालयले सेमेस्टर प्रणालीको परीक्षा अनुकूल समयमा लिने गरी माथिल्लो कक्षामा पढाउने तयारी थालेको छ । भदौदेखि असोजसम्म परीक्षा सक्ने गरी परीक्षा तालिकासमेत त्रिविले सार्वजनिक गरेको थियो । तर, कोरोना संक्रमितको सङ्ख्या बढेपछि त्रिविले परीक्षा स्थगित गरेको छ ।

परीक्षा सम्भव नभएपछि त्रिविले सेमेस्टरको अर्को कक्षा सुरु गर्ने भएको छ । विद्यार्थी अन्योलमा भएपछि त्रिविले सेमेस्टरको परीक्षा नलिई माथिल्लो कक्षा सुरु गर्ने तयारी थालेको हो । शैक्षिकसत्रलाई खेर जान नदिन अनलाइनबाट विद्यार्थीलाई पढाउने त्रिविका शिक्षाध्यक्ष प्रा। डा। शिवलाल भुसालले जानकारी दिए । ‘असोजसम्म जाँच सक्ने भन्ने थियो । त्यो सम्भावना रहेन । परीक्षा अनुकूल समयमा लिने गरी अर्को सेमेस्टरको कक्षा सञ्चालन गर्ने तयारी थालेका छौँ,’ उनले भने ।
 

अनलाइन कक्षा

तत्काल फेस टु फेस पढाउने स्थिति नभएकाले अनलाइनबाट विद्यार्थीलाई पढाउने शिक्षाध्यक्ष भुसालले बताए । ‘फेस टु फेस पढाउने सम्भावना छैन । विद्याथी र शिक्षकलाई अनलाइनमा परिचित पनि बनाउनु छ । माथिल्लो कक्षा अनलाइनमा पढाएर परिचित बनाएपछि परीक्षा लिन पनि सहज हुन्छ,’ उनले भने, ‘एक सेमेस्टर अनलाइनबाट पढाएपछि फेस टु फेस सम्भव नभए परीक्षा पनि अनलाइनबाट लिन सकिन्छ ।’

योजनाअनुसार चल्न समस्या

कोरोनाले क्यालेन्डर प्रभावित भए पनि अनलाइनमा जोडिने अवसर भने दिएको छ । ‘कोरोनाले क्यालेन्डर प्रभावित भयो तर अनलाइनमा जोडिने मौका पनि दियो । अनलाइनमा जानैपर्ने बाध्यता भयो । एउटा योजना बनायो । परिस्थिति अर्कै बन्छ । योजनाअनुसार चल्न सकिएन,’ उनले भने ।

 

वार्षिक परीक्षा र कक्षा अन्योल

सेमेस्टरको कक्षा सुरु गर्ने तयारी गरे पनि वार्षिक परीक्षा र कक्षा के गर्ने भन्ने अन्योल छ । जेठ, असारमा परीक्षा गर्ने तय भएको थियो । तर, कोरोनाका कारण परीक्षा हुन सकेन । ‘वार्षिकको जाँच नगरी कक्षा चलाउन सकिने अवस्था छैन । विद्यार्थी कहाँकहाँ छन्, खोज्नुपर्ने स्थिति छ । वार्षिकको धेरै बिग्रँदैन,’ शिक्षाध्यक्ष भुसालले भने ।

 

४ वर्षलाई खुम्च्याउने

त्रिविले वार्षिकको हकमा भने खुम्च्याएर शैक्षिकसत्र चलाउने विषयमा छलफल गरिरहेको छ । ‘४ वर्षको समय हुन्छ,’ उनले भने, ‘अरु वर्षलाई खुम्च्याउने स्थिति आउँछ ।’

 

आन्तरिक मूल्याङ्कन राम्रो गरौँ

त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले आन्तरिक मूल्याङ्कनलाई प्रभाकारी बनाउनुपर्ने बताए । ‘प्राध्यापकले परीक्षा लिने हो । कापी परीक्षण गर्ने पनि प्राध्यापकले हो । आन्तरिक मूल्याङ्कन परीक्षा लिएको हुन्छ । त्यसलाई प्रभावकारी बनाएको भए आज समस्या हुने थिएन,’ उनले भने, ‘इन्टरनल परीक्षा खुला गर्ने, धेरै नम्बर दिने गरिएको छ । यसलाई सुधार गरेर आन्तरिक मूल्याङ्कनबाट पनि पहिलेको समस्या समाधान गर्न सकिन्छ ।’

 

परीक्षा प्रणालीमा सुधार

माथेमाले परीक्षा प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । ‘पुरानै शैलीबाट परीक्षा गर्न सम्भव छैन । नयाँ डिजाइन गर्नुपर्छ । अनलाइनको माध्यमबाट पनि परीक्षा र कक्षा चलाउन सकिन्छ,’ उनले भने ।

 

विद्यार्थीको करियरमा असर

परीक्षा नहुँदा विद्यार्थीको करिअरमा असर पर्ने भएकाले सही निर्णय लिन उनले सरकारलाई आग्रह गरे । ‘परीक्षा नहुँदा विद्यार्थी मारमा पर्छन् । टाढाटाढाबाट पढ्न आएका हुन्छन् । बाआमाले खर्च पठाएर पढ्नुपर्ने स्थिति छ । १ वर्षमा पूरा गर्नुपर्ने २ वर्ष लाग्यो भने कति असर गर्छ रु यही वर्ष सकिएर जब मार्केटमा जाने विद्यार्थी २ वर्ष कुर्नुपर्ने हुन्छ । त्यसैले विज्ञहरूसँग छलफल गरेर एउटा निर्णयमा पुग्नुपर्छ,’ उनले भने । यो खबर शिलापत्र डटकममा प्रकाशित छ । त्यही गएर खबर पढ्नका लागि क्लिक गर्न सक्नुहुनेछ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close