Lockdown News

अब फेरि होटल-रेष्टुरेन्टमा बसेर खान नपाइने, दश नाकाबाट मात्रै नेपाल आउन मिल्ने !

काठमाडौँ – होटल तथा रेष्टुरेन्ट संचालनको विषयमा सरकारले नयाँ नियम लागू गरेको छ। सरकारले लागू गरेको नयाँ नियम अनुसार अब होटल तथा रेष्टुरेन्टमा बसेर खान पाइने छैन।

मंगलबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्नेक्रममा सरकारका प्रवक्ता युवराज खतिवडाले होटल तथा रेष्टुरेन्टमा बसेर खान नपाइने नियम सरकारले पुन: लागू गरेको बताए।

सरकारले लकडाउनको अन्त्य भएको घोषणा गर्दै साउन १५ गते देखि रेष्टुरेन्टमा बसेर खान पनि पाइने नियम लागू गरेको भएपनि कोरोना भाइरस संक्रमितको संख्या लगातार बढेसँगै यस्तो नियम लागू गरिएको उनको भनाई छ.

“होटल रेष्टुरा खोल्ने भनिएको थियो। अब होटल र रेष्टुराबाट तयार गरेको खाद्य परिकार लैजाने सेवा टेक अवेमात्र दिने निर्णय भएको छ।”, सरकारको निर्णय सुनाउँदै उनले भने।

यस्तै सरकारले १० वटा नाकाबाट मात्रै नेपाल आउन पाउने व्यवस्था गरेको छ। यसअगाडी सरकारले २० नाकाबाट नेपालीहरु स्वदेश फर्किन पाउने व्यवस्था गरेको थियो। तर, भारतबाट कोरोना भित्रिएसँगै सरकारले यस्तो निर्णय गरेको हो।

अब काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकी गरी १० नाकाबाट मात्रै नेपाल आउन पाइने खतिवडाले बताए। सीमा नाका भने भदौ ३१ गते बुधबारसम्म बन्द गर्ने निर्णय सरकारले गरेको छ। मालसामान ढुवानी र जोखिममा रहेका नेपाली मात्र नेपाल आउन पाउने छन्।

Related Articles

Back to top button
Close