Corona (COVID-19) Updates

सार्वजनिक सवारीसाधनका ड्राइभरलाई कोरोना लागे काठमाडौंको स्थिति के होला ?

काठमाडौं । काठमाडौँ उपत्यकामा कोरोना भाइरस संक्रमितको संख्या दिनदिनै बढ्दै छ । पछिल्लो समय पर्सापछिको दोस्रो हटस्पट बनेको छ काठमाडौं । अहिलेसम्म संक्रमितको संख्या एक हजार नाघेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुर तीनै जिल्लाका प्रायः कुनै पनि स्थानीय तह कोरोना भाइरस संक्रमणबाट अछुतो छैन । स्थानीय तहका पनि टोलटोल र सहरी क्षेत्रमा संक्रमण फैलिएको छ । अब कसलाई कोरोना लागेन भन्नु भन्दा पनि कोरोना कसलाई लागेन भन्ने दिन आउने संकेत देखिएको छ ।

सरकारले साउन ६ गते लकडाउन अन्त्य गरेसँगै संक्रमित ह्वात्तै बढेका हुन् । बाहिरी जिल्लाबाट आउने व्यक्तिले काठमाडौंमा कोरोना संक्रमण फैलाएको यहाँका स्थानीय तहका प्रमुखहरूको दाबी छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले काठमाडौंमा कोरोना संक्रमित बढे पनि स्थिति काबु बाहिर नगएको दाबी गरेका छन् । चिकित्सक तथा स्वास्थ्य विज्ञहरूले काठमाडौंमा कोरोना संक्रमण समुदायस्तरमा फैलिसकेको दाबी गरे पनि सरकार भने अझै त्यो दाबी स्वीकार गर्ने पक्षमा देखिएको छैन ।

काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढेसँगै सरकारले यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनले आफूले दिने सेवा सटडाउन गरेका छन् । यातायातमा जोरबिजोर प्रणाली लागू भए पनि यात्रुको भीड भने धेरै देखिएको छ ।

त्यसैले सवारी चलाउने चालकलाई कोरोना लागेमा त्यसले कस्तो असर गर्छ भन्ने विषयमा कोही संवेदनशील देखिएको छैन । सवारी चालकसँग धेरै यात्रु क्लोज कन्ट्याक्टमा पर्ने हुन्छन् । तर, ती सबैलाई क्लोज कन्ट्याक्टमा ल्याउन सम्भव नै हुँदैन । केही दिनअघि मात्र एक टेम्पो ट्राइभरलाई कोरोना संक्रमण देखियो । उनबाट कति मानिसमा कोरोना सर्यो वा सरेन भन्ने विषयमा कसैले केही बताउन सक्दैन ।

कोरोना संक्रमित देखिएसँगै काठमाडौंका धेरै टोल बस्ती र चोकमा सिल गरिएको छ । मानिसको आवतजावतमा रोक लगाइएको छ ।

Related Articles

Back to top button
Close