News

भदौ १ देखि उडानका लागि विमानस्थल तयार

काठमाडौँ। कोरोना सङ्क्रमणका कारण करिब ५ महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान शुरू हुँदैछ। यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा रहेका छन्। सरकारले उडान शुरु गर्ने घोषणा गरेलगत्तै एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित देशका अन्य विमानस्थल सञ्चालनका लागि आवश्यक तयारी शुरु गरिसकेको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिकतर्फ पोखरा, भैरहवा, विराटनगर, भरतपुर, नेपालगन्जजस्ता विमानस्थललाई केन्द्रित गरेर उडान सुरक्षा व्यवस्थापन कार्यान्वयनको तयारी गरिरहेको छ। यसका लागि सरकारले जारी गरेको हवाई सेवा पुनः सञ्चालन सम्बन्धी प्रोटोकल कार्यान्वयन गर्दै त्यसैअनुसार विमानस्थल सञ्चालनको तयारी भइरहेको बताइएको छ।

भदौ १ गतेदेखि नियमित उडान सुरु गर्ने सरकारको निर्णय भए पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै प्राधिकरणले केही समयका लागि भने उडान अनुमति कटौती गर्ने भएको छ। केही समय अन्तर्राष्ट्रिय उडानमा २५ प्रतिशत उडानलाई मात्र अनुमति दिइने भएको छ।

अन्तर्राष्ट्रियतर्फ जहाज उडानको समय अन्तर पनि करिब ४५ मिनेट राखिने भएको छ। आन्तरिकतर्फ भने ३३ प्रतिशत मात्र उडान अनुमति दिइने बताइएको छ। आन्तरिक विमानस्थलको टर्मिनलमा १ घण्टामा बढीमा ३०० यात्रुलाई मात्र सेवा दिने गरी सञ्चालन गर्न प्राधिकरणले निर्देशन दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले भदौ १ देखि पहिलो हप्ताका लागि विमानस्थल सञ्चालन गर्न वायुसेवा सेवाप्रदायकसँग सहमति गरेको छ। सहमति अनुसार पहिलो हप्ता बिहान ६ बजदेखि बेलुका ६ बजेसम्म मात्र उडानको समय निर्धारण हुने भएको छ।

आन्तरिक टर्मिनल भवनमा प्रतिघण्टा ३०० यात्रुलाई सेवा दिने गरी व्यवस्थापन गरिने भएको छ। पहिलो हप्ताका लागि टर्मिनलको निर्धारित दायरा प्रतिघण्टा ३०० यात्रुभित्र रही प्राधिकरणसँग सेड्युल माग गर्ने अर्को सहमति भएको छ। काउन्टरबाट यात्रुलाई चेकजाँच गरेपछि सम्बन्धित वायुसेवा कम्पनीले डिपार्चर क्षेत्रबाट छिटोभन्दा छिटो उडान आफ्नो यात्रुलाई हवाई जहाजतर्फ प्रस्थान गराउनुपर्नेछ।

कुनै प्राविधिक वा मौसमको कारण ढिलाइ भएमा यात्रुलाई बस, जहाज वा ह्याङ्गरमा उपयुक्त तरिकाबाट व्यवस्थापन गर्नुपर्ने सहमति भएको छ। यस्तो व्यवस्था भदौ पहिलो हप्ताका लागि लागू गर्ने र त्यसका आधारमा भदौ ५ गते अर्को बैठक बसेर थप निर्णय गर्ने दुई पक्षबीच सहमति भएको छ।

भदौ १ गतेदेखि नियमित उडानको घोषणा भएपछि नेपालमा अन्तर्राष्ट्रिय उडान गरिरहेका एक दर्जन वायुसेवा कम्पनीले अहिलेसम्म उडान अनुमति मागेको प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार अहिले सम्म टर्किस, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्स, सलाम एयर, एयर अरेबिया, चाइना साउदर्न, एयर चाइना, मलेसियन एयरलाइन्स, मालिन्दो, इन्डिगो, जजिरा, फ्लाइ दुबईले उडान अनुमति मागेका छन्।

Related Articles

Back to top button
Close